काठमाडौँ, चैत । आज तनहुँ, चितवन, बारामा रहेको प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरिँदैछ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज, सोमबार, मनोनयन दर्ता गर्न लागिएको हो ।
गत मंसिर ४ मा भएको आम निर्बाचनमा निर्बाचित कांग्रेसका रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगको तालिका अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र दर्ता गर्दै छन् ।
तनहुँ–१ मा कांग्रेस, एमाले, रास्वपा र अन्य साना पार्टीले उम्मेदवार टुंगो लगाएका छन् कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापा उपस्थित रहने बताइएको छ । भट्टराई शनिबारै गृह जिल्ला आएर कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिने भएका छन् । उनीहरू आइतबार तनहुँ आएर कार्यकर्ता भेटघाटमा जुटेका छन् ।
एकीकृत समाजवादीबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए । माओवादीले उम्मेदवारी दिने चर्चा चले पनि उम्मेदवार टुंगो लागेको छैन ।
उपनिर्वाचन तयारी सुरु भइसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । यस क्षेत्रका ४२ वडामा ६९ मतदानस्थल तथा १५२ मतदान केन्द्र छन् । यो क्षेत्रमा १८५ मतदाता घटेर १ लाख २३ हजार ३०५ कायम भएको छ ।
यसअघिको निर्वाचनमा ६६ हजार ९६५ मत खसेकामा पौडेल २५ हजार ३१८ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत पाएका थिए ।
चितवन–२ मा रास्वपाले केन्द्रीय सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेस र एमालेले भने यस पटक उम्मेदवार परिवर्तन गरेका छन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट लामिछाने फराकिलो मतान्तरले निर्वाचित भएका थिए ।
नागरिकता विवादको मुद्दामा सर्वोच्चको फैसलाले उनको सांसद पद खारेज भएको थियो । कांग्रेसले यस पटक पार्टीका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले पनि पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ । गत मंसिरको निर्वाचनमा कांग्रेसले उमेश श्रेष्ठलाई र एमालेले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएका थिए ।
गत निर्वाचनमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । तत्कालीन सत्तारूढ गठबन्धनका साझा उम्मेदवार निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९८३ मत आएको थियो भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाएका थिए ।
मंसिरमा भएको निर्वाचनमा चितवन–२ मा १ लाख २४ हजार १४ मतदाता रहेकामा ८४ हजार ३१५ मत खसेको थियो । यस पटक मतदाता संख्या १ लाख २४ हजार ६९५ पुगेको छ ।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडा यो क्षेत्रमा पर्छन् । ४३ मतदानस्थल र १३८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताए ।
सत्तारूढ दलबाट कांग्रेसका श्रेष्ठ साझा उम्मेदवार हुने भनिएका कारण माओवादीले मनोनयन दर्ता नगराउने भएको छ । तर अघिल्लो चुनावदेखि नै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
मनोनयन दर्ताका लागि भरतपुरमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
बारा–२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिने भएका छन् । मुख्य प्रतिस्पर्धी मानिएको एमालेले भने आइतबार साँझसम्म उम्मेदवार टुंगो लगाएको छैन ।
आमजनता पार्टीले सोही क्षेत्र निवासी गत चुनावमा प्रतिस्पर्धा गरेका अधिवक्ता अरुण ज्ञवालीलाई उम्मेदवार बनाउने तयारी छ । गत चुनावमा स्वतन्त्र उठेका ज्ञवालीले ७ हजार ६९८ मत पाएका थिए । रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् ।
जनमत पार्टीले गत मंसिरको चुनावमा कांग्रेस, लोसपालगायतको गठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर दोस्रो भएका शिवचन्द्र कुसवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवारका रूपमा अघि सारेको छ ।
कुसवाह ३५४ मतको फरकले पराजित भएका थिए । यही मतका आधारमा कुसवाहले माओवादीबाट टिकट पाउनुपर्ने अडान राखेका थिए तर पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने संकेत पाएपछि उनी माओवादी परित्याग गरी जनमतमा लागेका हुन् ।
कुसवाहले १३ हजार ४६८ मत पाउँदा एमालेको समर्थनमा उठेका रामसहाय १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए । जनमतले कुसवाहको मतको लेखाजोखा गरी उपेन्द्रलाई टक्कर दिन आफूतिर तानेको हो ।
उपेन्द्रले आफ्ना पार्टीका तत्कालीन निर्वाचित सांसद रामसहायको मत, जातीय बाहुल्यता, पार्टीका २ प्रदेशसभा सदस्य, बागी उठेका रामकिशोर यादवसहितको बलमा जित्ने आकलनसहित उम्मेदवारीको तयारी गरेका हुन् ।
यसअघि बागी उम्मेदवारी दिएका रामकिशोर ११ हजार ४३ मत ल्याएर तेस्रो स्थानमा थिए । यो क्षेत्रमा यादव समुदायको बाहुल्य छ । त्यसपछि मुस्लिम र थारू छन् । यी जातिबाहेक पचपहुनिया जातिको मत पनि निर्णायक छ ।
पचपहुनियाको मत आफूलाई आउने विश्वासमा कुसवाह छन् । यसैगरी चौथो स्थानमा कांग्रेसका बागी उम्मेदवार रोशन भनिने रवीन्द्र यादव थिए, जसले १० हजार ७५० मत ल्याएका थिए ।
एमालेले उनलाई भित्र्याएर चुनावी प्रतिस्पर्धामा उत्रने लक्ष्य बनाएको थियो तर रणनीति सफल नभएपछि पार्टीका प्रभावशाली नेता पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने रणनीतिमा रहेको पार्टी मधेस प्रदेशका सहइन्चार्ज अच्युत मैनालीले बताए ।
पौडेल क्षेत्र नम्बर ३ बाट पटक–पटक सांसद भइसकेका प्रभावशाली नेता हुन् । यद्यपि निर्णय हुन भने बाँकी छ । ‘एमालेकै समर्थनमा यो क्षेत्रमा जसपाले जितेको थियो, त्यसैले हाम्रो जित्ने आधार छ,’ मैनालीले भने ।
निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा १ लाख ५ हजार मतदातामध्ये पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ छन् । मतदानस्थल ८२ र मतदान केन्द्र १३६ छन् । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् । देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् ।