२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चैत कृष्ण औँसी

उपत्यकामा घोडेजात्रा पर्व मनाइयो : ' सेनाबाट टुँडिखेलमा युद्धकला प्रदर्शन '

गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन

मंगलवार , चैत्र ७, २०७९

 

काठमाडौँ , चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी विशेष गरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।  जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । 

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । 

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ ।  कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राज्यका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । मंगलबजारबाट बालकुमारीसम्म घोडेजात्रा देखाइएको थियो । घोडा अष्टमान महर्जनले कुदाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार