काठमाडौँ, चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा दलहरू एजेन्डाका हिसाबले एकै स्थानमा रहेको कारण चाँडै विश्वासको मत लिनुपर्ने अवस्था नआउने बताएका छन् ।
विश्वासको मतमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र र शान्तिका लागि त्यस्तो नहुने बताए । एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको उल्लेख गर्दै उनले भने, 'पुरानो कुरा नल्याउने विषयमा बाहिर गएपछि एमालेसँग टिक्दैन कि भन्ने लागेको थियो । तर अहिलेको गठबन्धन टिक्ने प्रचुर सम्भावना छ किनभने एजेन्डाका हिसाबले एकै ठाउँमा छौं । यो चाहिँ टिक्छ भन्ने लाग्छ ।'
अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टि लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताए ।
उनले भने, ‘ त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उनले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टि लबीमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ । उनको भनाइलाई पुष्टि गर्ने कि हामीहरू सबैको हातमा छ ।’
प्रधानमन्त्री दाहालले २ महिनापछि पुनस् विश्वासको मत लिने अवस्था नआउने पनि प्रष्ट पारे । उनले भने, 'अघि पनि कुरा उठ्यो २ महिनापछि फेरि विश्वासको मत लिने अवस्थामा आउने होइन ? मलाई आउँदैन र आउन पनि दिनु हुँदैन । लोकतन्त्र र गणतन्त्रका लागि शान्तिका लागि । मैले धेरै कुरा छलफल गरेको कानुनविद्सँग पनि छलफल गरेको छु ।'
'अहिले १० वटा दल भइयो एउटाले समर्थन फिर्ता लिने भएपछि २-२ महिनामा लिनुपर्ने भयो । तर बुझ्दा त्यस्तो हुँदैन । संसद्मा बहुमत छ भन्ने विषयमा लाग्दासम्म विश्वासको मत लिनु पर्दैन ।'