काठमाडौँ, चैत । गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ ।
आइतबार एक समारोहबीच राष्ट्रपति भवन शीतल निवासमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
सो प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका थिए ।
साथै उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रमुख आयुक्त थपलियाले यसवर्ष आयोगका लागि निर्वाचन वर्ष भएको भन्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।