२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

गणतन्त्र नेपालको तेस्रो  उपराष्ट्रपति 

रामसहायप्रसाद यादव भए निर्वाचित : " ३० हजार ३२८ मत भार प्राप्त "

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद मतदाता

शुक्रवार , चैत्र ३, २०७९


काठमाडौँ, चैत ।  नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् ।
 
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३१४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । 

जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति(उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । 

उनले २०४७ सालमा नेपाल सद्भावना पार्टीको भ्रातृ संगठनमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिव समेत बने । 

२०६४ मा बारा(२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार