२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अस्तब्यस्त  प्रशासनिक क्षेत्र

" उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ, प्रधानमन्त्रीकै नेतृत्व "  

उच्चस्तरीय प्रशासन सुधार आयोग गठन  हुन्छ :  प्रधानमन्त्री दाहाल

मंगलवार , फाल्गुण ३०, २०७९

 

काठमाडौँ, फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन । 
 
“प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ । यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन”, प्रधानमन्त्री दाहालले भने,  “कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ । 

बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी आयोग गठनको तयारी गरिएको छ । केही समयभित्रै आयोग बन्छ ।”  आयोगको नेतृत्व प्रधानमन्त्रीले नै गर्ने र विज्ञ रहने व्यवस्था गरिने उनको भनाइ छ ।
 
प्रधानमन्त्री दाहालले कर्मचारी प्रशासनमा चाहिनेभन्दा बढी कर्मचारीको चापलाई कटौती गरिने बताए । उनले भने, “ओभर स्टाफिङको समस्या छ । अनावश्यक संरचनाहरू छन् । तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ । त्यसका लागि आयोग गठन आवश्यक छ ।”
 
उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए ।  प्रधानमन्त्री दाहालले भने, “मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसद्मा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा जे जति कुरा भनेको छु, तिनीहरू फेरिँदैनन् । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।”
 
“त्यसमा हामी दृढ भएर अगाडि जान्छौँ । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस् ।”
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार