काठमाडौँ, फागुन । मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्नेबारे उठेको बिबादमा सरकारले स्वीकृति नदिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले भने, 'एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप झुठा हो ।'
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, 'अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको छ, त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पनि पाएको छु ।'
'मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो ।
पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहींकतै स्वीकृति दिएको स्थिति होइन' उनले भने ।
प्रधानमन्त्री दाहालले थपे, 'आफूले सो चर्चाको विषयमा कसैलाई आरोपरप्रत्यारोप गर्ने पक्षमा छैन ।' उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताए ।
प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।
उनले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन् । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रेसेसमात्रै हामीले ठीक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन् ।'
हामी नेपाली भन्दा विदेशीले अघि बढी मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन् भन्ने पनि तपाईंरहामीले सुन्दै आएको पनि हो ।’
प्रधानमन्त्री दाहालले मुस्ताङमात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताए । 'मुस्ताङ मात्रै होइन । देशका विभिन्न भागमा विभिन्न किसिमको स्रोतहरु छन् । पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौ' उनले भने ।