काठमाडौँ, फागुन । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत माग्दै कांग्रेस नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कार्यालय पुगे । सोमबार धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका हुन ।
वरिष्ठ नेता पौडेल राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेर मत मागेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए ।
उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए। ‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाइ सहयोग गर्न भन्यौँ ।
उहाँहरुले अग्रिम शुभकामना दिएका छन । उनीहरुले २४ गते बैठक बसेर निर्णय गर्ने बताएका छन । सकारात्मक जवाफ आएको छ,’ उनले भने ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।