काठमाडौँ, फागुन । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रपति चयनको क्रममा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको बताएका छन् । उनले भने, सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई आफूहरूले समर्थन गरेको हो ।
अध्यक्ष राउतले भने , राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा जनमत पार्टी रहेकाले पनि पौडेललाई समर्थन गरेका हौँ । विद्यार्थी संघको मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिनसक्ने उनको तर्क थियो ।
यस क्रममा आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयक उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने पनि उनले बताए । राउतले भनेका छन्, ‘विगतमा भोग्यौं दुबैवटा सदनबाट पारित भइसकेको विधेयकलाई पनि राष्ट्रपतिज्यूले फिर्ता गरिदिएकी थिईन ।
हाम्रो धारणा के छ भने राष्ट्रपतिमा स्वच्छ व्यक्ति हुनुपर्दछ । कुनै राजनीतिक दल विशेषको भूमिका नझल्कने खालको व्यक्ति हुनुपर्छ र नागरिकता विधेयक लगायत कुरालाई उदारतापूर्वक तरिकाले जुन विधेयक पारित गरेर त्यहाँ पठाइन्छ त्यसलाई पारित गर्न सक्नुपर्छ । त्यस्तो खालको हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।
सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौं । किनभने त्यसले देशमा निरंकुशता जन्माउन सक्छ भनेर प्रसस्त आधारहरु रहेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनले प्रस्तावित गरेको राष्ट्रपतिलाई समर्थन दिने पक्षमा रहेका छौँ ।’
यसैबीच आफूहरू सरकारबाट नबाहिरिने उनले बताएका छन् । अध्यक्ष राउतले अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए ।