काठमाडौँ, फागुन । प्रधानमन्त्री पुष्पकमल दाहासँग नेकपा एमालेका अध्यक्ष केपी ओलीको वार्ता सकिएो छ । यस लगत्तै नेपाली कांग्रेससहित चार दलका नेताहरूबीच बालुवाटारमा बैठक भइरहेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री दाहालसँग छलफल गर्न ओली प्रतिनिधिसभा बैठकपछि बालुवाटार पुगेका थिए ।
ओली बालुवाटारबाट निस्किएलगत्तै कांग्रेसका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री दाहालसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहमतिका लागि नै छलफलका लागि हामी आएका हौं, कांग्रेसका उपसभापति खड्काले बताए ।
बैठकमा सहभागी हुन भर्खरै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु समेत बालुवाटार पुगेका छन् । गत मंसिर ४ को निर्वाचनअघि एउटै गठबन्धनमा रहेका यी चार दल अब राष्ट्रपति निर्वाचनमा फेरि एक ढिक्का हुनेबारे छलफलमा छन् ।
शुक्रबार बिहानमात्रै चार घन्टासम्म छलफल गरेका नेताहरुले अहिले साँझ बस्ने बैठकबाट राष्ट्रपतिमा साझा उम्मेदवार तय हुने बताएका छन् शुक्रबार विहानको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने दाबी गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष ओलीले भने दाहाललाई पुस १० गतेको सहमति पालना गर्न तथा राष्ट्रपतिमा एमालेलाई सघाउन आग्रह गरेका थिए । साथै प्रधानमन्त्रीसँग ओलीको वार्ता निष्कर्षमा नपुगेको बताइएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूले भेटघाट तीव्र बनाएका छन् । बुधबार १३ गते मनोनयन दर्ता गरिसक्नुपर्नेमा कुनै दलले पनि उम्मेदवारको औपचारिक घोषणा गरिसकेका छैनन् ।