२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति निर्वाचन बहस

चार दलको बैठक बालुवाटारमा : निर्णायक वार्ता गर्ने, सहमतिबाट राष्ट्रपति चयनकाे प्रयास

शुक्रवार , फाल्गुण १२, २०७९

 

काठमाडौँ, फागुन ।  राष्ट्रपति निर्वाचनका विषयमा छलफल गरी टुगोमा पुग्न चार दलका नेताको बैठक बालुवाटारमा बसेको छ ।  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका छन् । 
मंगलबार, बुधबार र बिहीबार चरणबद्ध छलफल गरेका नेताहरुले शुक्रबारको बैठकलाई निर्णायक भनेका छन् । यी बैठकमा भएका अनौपचारिक छलफललाई सामूहिकरुपमा औपचारिकता दिने र विगतको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेस नेताहरुको प्रयास छ ।
प्रधानमन्त्री दाहालले भने राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने अडान लिइरहेका छन् । तर प्रधानमन्त्रीको दल माओवादी केन्द्रले भने सत्तारुढ गठबन्धनमा यसअघिको सहमति बमोजिम नेकपा एमालेलाई राष्ट्रपतिमा नसघाउने निर्णय गरिसकेको छ ।
एक कांग्रेस नेताका अनुसार, प्रधानमन्त्री दाहालले एक साताअघि नै कांग्रेसलाई राष्ट्रपति दिन सहमति जनाइसकेका छन् । मंगलबार, बुधबार र बिहीबारका चरणबद्ध छलफलपछि दलबीच विगतको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनिसकेको नेताहरूको दाबी छ । 
तर माओवादी र नेकपा एसका नेताहरूले भने विगतको नेकपा ब्युँताएर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विकल्पमाथि समेत छलफल गरिरहेका छन् । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार