२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

'राजनीति र लोकतान्त्रिक संस्कार'

महामन्त्री थापाले भने : " राष्ट्रपतिबाटै संविधानको दुर्घटना फेरि गराइन्छ कि भन्ने डर छ " 

बुधवार , माघ २५, २०७९


काठमाडौँ, माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको बताएका छन् । 
एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने उनले बताए । बुधबार काठमाडौंमा भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाएर शीतल निवासबाट समानान्तर शक्ति अभ्यास गर्न चाहेको आरोप लगाए ।
‘अहिले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यसलाई सम्माननीय कठपुतली राष्ट्रपति भने हुन्छ । त्यस्ता राष्ट्रपतिले के–के गर्छन् भन्ने हामीले विगतमै देखिसकेका छौँ । त्यो राष्ट्रपतिले समानान्तर शक्तिका रूपमा अभ्यास गर्छ । 
संविधानले भनेको छ एकातिर, काम गर्छ अर्कोतिर । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यही डरले गर्दा हामी नेकपा एमालेले बनाएको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ, हराउन कोसिस गर्छौँ, अन्तिमसम्म हराउनकै लागि प्रयास गर्छौं । हराउँछौँ ।’
उनले अब फेरि संविधानमाथि राष्ट्रपतिबाट हुने जोखिमलाई कम गर्न कांग्रेस दत्तचित्त भएर लाग्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मञ्चहरू र सदनबाट समेत अदालतको निन्दा हुने गरी धारणा राखेको भन्दै त्यसले स्वतन्त्र न्यायपालिकाकाप्रति एमालेको धारणा के हो भन्ने प्रश्न उब्जिएको बताए ।
‘सम्मानित अदालतले गरेका कतिपय निर्णयहरू सबैलाई चित्त बुझ्दैन । अदालतको निर्णयको सन्दर्भमा छलफल भन्दा पनि अदालतको निन्दा गर्ने कुरा पार्टीको मञ्चबाट, संसद्‍बाट निरन्तर भइरहेको छ । 
अदालतप्रति नेकपा एमालेको धारणा के हो ? कि अदालतले कार्यकारीको धारणा बुझेर फैसला दिनुपर्ने हो ? भनेर सोध्न पाउने कि नपाउने ?,’ उनले भने, ‘अदालतको निर्णय ठीक कि बेठीक भनेर छलफल गर्नु र अदालतको निन्दा गर्नु फरक कुरा हुन् ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार