२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रियसभा उपाध्यक्ष पदको निर्बाचन 

माओवादीकी अर्यालको उम्मेदवारी दर्ता : ' नेपाली कांग्रेसको पनि समर्थन '

आइतवार , माघ २२, २०७९



काठमाडौँ, माघ । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छन ।  संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन ।  
अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ रहेका छन   भने समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा  छन ।  राष्ट्रियसभाको उपाध्यक्षका लागि आज अपराह्न चार बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको थियो ।  
नेपाली काँग्रेसलगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आज मात्रै गरेका छन्  । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो । 
माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी अर्यालले पूर्वस्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित  भएकी हुन ।  
समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थी  पनि हुन । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरिसकेकी छन ।  
सेभ द चिल्ड्रेनलगायतका संस्थामा समेत आफ्नो जिम्मेवारी सम्हालेकी अर्यालले उपाध्यक्षको उम्मेदवारी दिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताएकी छन ।  उनले राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उल्लेख गरिन । 
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । 
यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ । 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गर्नुभएको थियो । आज चार बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४.१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ । 
राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ पेश गरिनेछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार