काठमाडौँ, माघ । नेकपा माओवादी केन्द्रका स्थायी समितिका धेरैजसो नेताले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् ।
शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरे । स्थायी कमिटीमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् ।
यस विषयमा औपचारिक निर्णय गर्न बाँकी छ, प्रवक्ता कृष्णबहादुर महराले भने, राष्ट्रिय सहमति भनेको कांग्रेस र एमालेसहित सबैको सहमति भन्ने हो । महराले राष्ट्रिय सहमतिका लागि पहल गर्ने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।
बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा शुक्रबार महरालाई पार्टी एकता सम्बन्धी, जनार्दन शर्माले संगठनसम्बन्धी र उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन प्रस्ताव गरेका थिए । बैठक निरन्तररुपमा जारी रहने महराले बताए ।