२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मा‌ओवादी स्थायी कमिटी बैठक

राष्ट्रपति र उपराष्ट्रपति चुनाव : " दाहालले मागे नेताहरूसँग आ - आफ्नो धारणा " 

बिहिवार , माघ १२, २०७९


काठमाडौँ, माघ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् ।  स्थायी कमिटीको बिहीबार सुरु भएको बैठकमा दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ पनि गरेका थिए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २९ गते कार्यकाल सकिन लागेको र नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेको अवस्थामा दाहालले पार्टीका नेताहरूबाट सुझाव मागेका हुन् ।
कान्तीपुर लेख्छ, स्थायी कमिटी सदस्य महेश्वरजंग गहतराजले मुलुकको अबको राजनीतिबारे धारणा बनाएर आउन अध्यक्ष दाहालबाट आग्रह भएको बताए । 
'अब मुलुक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छ । स्थायी कमिटीको यो बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुन्छ । यसबारे सबैले धारणा बनाउनुहोला भन्नुभएको छ,' गहतराजले भने ।
एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने कुरा पनि दाहालले स्थायी कमिटीमा राखेका थिए । उनले एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय पनि राखेका थिए ।
स्थायी कमिटी सदस्य जयपुरी घर्तीले बैठकमा अध्यक्ष दाहालले राखेका विषयबारे भनिन्, 'विगतमा पार्टी एकता भयो फेरि विघटन भयो, यो पृष्ठभूमिमा अहिले सरकार बनेको छ । यो गठबन्धन टिकाउने र अर्को निर्वाचनसम्म लैजाने भन्ने हाम्रो कोसिस रहन्छ' भन्ने कुरा राख्नुभएको थियो ।
राष्ट्रपति निर्वाचनबारे दाहालले सत्तासाझेदार एमालेसँग छलफल चलिरहेको जानकारी स्थायी कमिटीलाई दिएका थिए। कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको उनले बताएका थिए ।
एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दाबी गरेको कुरा दाहालले बताएका थिए । यस विषयमा दाहालको भनाइ उदृत गर्दै घर्तीले भनिन्, 'सबैसँग छलफल गरेर जानुपर्छ । 
कांग्रेसले पनि समर्थन गरेर आएको छ । राष्ट्रपतिबारे गठबन्धनमा पनि छलफल भइरहेको छ ।' 
स्थायी कमिटी बैठकपछि नेता देवेन्द्र पौडेलले राष्ट्रपतिमा संविधान रक्षा गर्ने व्यक्तिलाई अगाडि सार्नुपर्ने अभिव्यक्ति दिएका छन् । 
'राष्ट्रपतिमा संविधानको व्यवस्था अनुरुपको व्यक्तित्वलाई अगाडि सार्न सक्यौं भने भोलि हुने सम्भावित दुर्घटनालाई नियन्त्रण, संविधान संरक्षण, सहमति कायम गर्न र अहिलेको बनावट भएको संसद्लाई पाँच वर्ष पूरै लैजान सकिन्छ,' माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार पौडेलले भने, 'राष्ट्रपतिका लागि एमालेबाहेक सहमति वा कांग्रेस बाहेकको राष्ट्रिय सहमति भनेको होइन । एमाले र कांग्रेस सहितको सहमति भनेको हो । सहमतिको व्यक्तित्वलाई अगाडि बढाउन सक्यौं भने राम्रो हुन्छ ।'
माओवादी स्थायी कमिटीको बैठकले शुक्रबारदेखि एजेन्डामा छलफल गर्ने भएको छ । उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार बिहान ११ बजेदेखि एजेन्डामा छलफल गर्नका लागि बैठक बस्ने बताए । 
संगठन विस्तार, पार्टीमा उपाध्यक्ष थप तथा समसामयिक राजनीतिक विषयमा स्थायी कमिटी बैठकमा एजेन्डा राखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार