काठमाडौँ, माघ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बोलाएको छलफलमा राष्ट्रपतिसहित संवैधानिक पदहरुको बाँडफाँटको विषयमा सत्ता साझेदार दलमा भएको सहमतिमा आफू दृढ रहेको बताएका छन् । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा दाहालले संवैधानिक पदहरुमा दलहरुबीच सहमति जुट्ने अवस्था भए आफू त्यसका लागि सहजिकरण गर्न तयार रहेको जानकारी गराएका छन् ।
प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राखेका थिए । प्रधानमन्त्री दाहालले दलहरूको धारणा र सुझाव मागेको जानकारी दिदै प्रधानमन्त्री दाहालका सचिवालय सदस्य सूर्य किरणले भने, उहाँले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोही अनुसार नै मंगलबार मन्त्रिपरिषदले पूर्णता पाएको बताएको जनाएका छन । उनले थपे, संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा प्रधानमन्त्री दाहालले राखेको जानकारी दिए ।
बैठकको सुरुवात गर्दै दाहालले विश्वासको मत दिने सबै दललाई धन्यवाद दिएको पनि जनाएका छन ।
पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो बालुवाटारमा बोलाएका थिए । बैठकमा दाहालले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितमा फरक भएको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै भने, प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका छन ।
सचिवालय सदस्य सूर्य किरणले भने, प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव माग्नुभएको थियो।ु
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित रहेको थियो।