२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सभापति देउवा - प्रधानमन्त्री दाहाल भेटवार्ता

कांग्रेससँग विश्वासको मत मागे 'प्रचण्ड' ले : " विश्वासको मत दिने वचन "

सोमवार , पौष २५, २०७९

 

काठमाडौँ, पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वचन दिएका छन् ।  कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सोमबार साँझ आफूलाई भेट्न धुम्बाराहीस्थित निवास आइपुगेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएको एक नेताले बताए । 
प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि उनी कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । भेटमा कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र कृष्ण सिटौलासमेत सहभागी थिए । देउवाले व्यक्तिगत रूपमा विश्वासको मत दिने वचन दिए पनि पार्टीले भने आधिकारिक निर्णय गर्न बाँकी छ ।
मंगलबार बिहान बोलाइएको संसदीय दलको बैठकले विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय लिनेछ । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत भने पार्टी प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । 
महामन्त्री थापाले पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउँदै आएका छन् । संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा पहिलो दल कांग्रेसले विश्वासको मत दिन नहुने थापाको भनाइ छ ।
कांग्रेसबाहेक सबैजसो दलको समर्थन जुटाएका दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।
विश्वासको मत दिँदा एमालेसँग माओवादीलाई अलग गराएर सत्ता बदल्न सकिने उनीहरूको तर्क छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् ।  उनीहरू दाहाललाई विश्वासको मत दिँदा पार्टी अर्को दुर्घटनामा पुग्ने चेतावनी उनीहरूले नेतृत्वलाई दिँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार