काठमाडौँ, पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन ।
विभिन्न सात राजनीतिक दलसहित कूल १६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेका हुन ।
प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
उनले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनु हुन भनेर आग्रह गरेका छन । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।”
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभा २७५ सदस्यीय छ । प्रत्यक्ष कूल १६५ र समानुपातिकतर्फबाट ११० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन ।