काठमाडौँ, पुस । काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयसँग थापाथलीस्थित वाग्मती किनारका बस्ती हटाउन आवश्यक सहयोगको माग गरेको छ । महानगरले भनेको छ, 'जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहयोग गरेन । ' गृह मन्त्रालयलाई पत्राचार गर्दै महानगरपालिकाले भनेको छ, वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग गर । महानगरले बिहीबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो । यसअघि मंसिर १२ गते वाग्मती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा महानगरले बस्ती हटाउन खोजेको थियो । बस्ती हटाउनका लागि प्रहरी प्रशासनबाट सहयोग नभएको भन्दै महानगरको नेतृत्व रुष्ट भएको थियो । मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले सञ्चारकर्मीसँग भने, 'यसअघि हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सहयोगका लागि माग गरेका थियौं । प्रशासनबाट मद्दत नभएपछि गृहलाई सिधै पत्राचार गरेका हौं । ' महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा हस्ताक्षार गरिएको पत्रमा नदी किनारमा रहेको संरचना हटाउन पटक(पटक खोजे पनि अवरोधका कारण सफल नभएको उल्लेख गरेको छ । पत्रमा मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई संरचना हटाउनका लागि आवश्यक निर्देशन एवं समन्वय गरिदिन अुनरोध गरिएको छ । महानगरको पत्रमा सुकुम्बासी बस्ती शब्द उल्लेख नगरी 'अनाधिकृत संरचना' लेखिएको छ । पत्रमा त्यस क्षेत्रमा रहेको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन माग गरिएको छ । पत्रमा महानगरबाट संरचना हटाउनका लागि आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइए पनि सफल हुन नसकेको जनाइएको छ । मेयर शाहका सहयोगीहरुले थापाथली किनारमा बसोबास गर्नेहरू सुकुम्बासी नै नरहेको दाबी गरे पनि हालसम्म उनीहरुको वास्तविक अवस्थाबारे भने सार्वजनिक गर्न सकेको छैन ।