छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एक पटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो
काठमाडौँ, पुस । नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकार गठनबारे भोलि सहमति हुने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले गठबन्धनकै सरकार बन्ने गरी छलफल सकारात्मक भएको र भोलि सहमति सार्वजनिक गर्ने दाबी गरेका हुन् ।
उनले गठबन्धनका नेता को पहिले र को पछि प्रधानमन्त्री बन्ने भन्ने विषय गौण भएको र देशको हितमा सहमति हुने बताए । 'छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एक पटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो,' उनले भने, 'मूल कुरा देशको हितमा कसरी अगाडि बढ्ने भन्ने हो ।'
प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले दाबी गरिरहेका छन् । पाँच दलीय बैठकमा चुनावपछिको समग्र घटनाक्रमबारे समीक्षा भएको र उक्त समीक्षा अनुसार चुनावबाट आएको जनमतलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको नेता कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
राष्ट्रपतिले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी थिइन् । मंसिर ४ को निर्वाचनमा गठबन्धन सहभागी भएर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका थिए । यी दलहरू अहिले सरकार गठनको तयारीस्वरुप निरन्तर छलफलमा छन् ।