काठमाडौँ, पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका सदस्य पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर जबराले बुधबार पदभार ग्रहण गरेका हुन् ।
उनले त्यसअघि राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सांसदलाई शपथग्रहण गराउने र सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए । उनले ज्येष्ठ सदस्यको हैसियतको भूमिकालाई निष्पक्ष राख्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए ।
उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाए । ‘सभामुखको भूमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोका लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनु पर्नेछ ।
सबैसँग समन्वय गरेर अघि बढ्नेछु,ु उनले भने, ुसदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भए पनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’
ज्येष्ठ सदस्य जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए । राप्रपा पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधिसभामा सबैभन्दा बढी उमेरका सांसद हुन् ।
गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदलाई बिहीबार जबराले शपथ ग्रहण गराउनेछन् । संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन् ।