काठमाडौं, असार । । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलका खेलहरू शुक्रवारदेखि शुरू हुँदैछन् ।
पहिलो खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग खेल्न लागेको छ । राउण्ड अफ सिक्सटिन मा २०१८को विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेर आएको स्वीट्जरल्याण्डको मनोबल उच्च रहेको छ ।
स्वीट्जरल्याण्डले फ्रान्सलाई चमत्कारिक रूपमा पराजित गरेको थियो । फ्रान्सले ८० औं मिनेटसम्म ३–१ को अग्रता लिएको थियो । उक्त अग्रतालाई अन्तिम १० मिनेटमा २ गोल गर्दै स्वीट्जरल्याण्डले बराबरीमा टुङ्गाएर खेल टाइब्रेकरमा पुर्याउँदै नतिजा आफ्नो पोल्टामा पारेको थियो ।
अहिलेसम्म यी दुई टोलीबीच २२ खेल भएकोमा स्पेनले १६ खेल जितेको छ भने स्वीट्जरल्याण्डले १ खेलमा जित हात पारेको छ । यसैगरी पाँच खेल बराबरीमा टुङ्गिएको छ । स्वीट्जरल्याण्ड जितेको एक खेल २०१० को विश्वकपको समूह चरणको खेल रहेको थियो । उक्त विश्वकपको उपाधि स्पेनले जितेको थियो ।
युरोकपमा स्वीट्जरल्याण्डको यो पहिलो क्वार्टरफाइनल खेल रहेको छ । स्वीट्जरल्याण्ड स्पेन विरुद्धको खेलमा नियमित कप्तान ग्रानित शाका बिना नै मैदानमा उत्रिने छ । उनले फ्रान्ससँगको खेलमा दोस्रो पहेँलो कार्ड पाएका कारण स्पेन विरुद्धको खेल गुमाएका हुन् ।
दुई टोलीको खेल नेपाली समय अनुसार शुक्रवार २१ः४५ बजे हुनेछ ।