काठमाडौं, असार।युरोकप २०२० बाट विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसिया दुवै टोली बाहिरिएका छन् । सोमबार राति भएको खेलमा पराजय व्यहोर्दै फ्रान्स र क्रोएसिया प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएका छन् ।
क्रोएसिया स्पेनसँग अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित भयो । त्यसपछि भएको अर्को खेलमा फ्रान्स पनि स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५–४ ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । फ्रान्स युरोकपको साबिक उपविजेता पनि हो । सन् २०१६ मा आफैँले आयोजना गरेको युरोकपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । साबिक विजेता टोली पोर्चुगल पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।
बुचरेष्टमा भएको खेलमा फ्रान्स र स्विट्जरल्यान्डले निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीबाट थप गोल नभएपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा केलियन एम्बाप्पे गोल गर्न चुक्दा फ्रान्सको यात्रा प्रिक्वार्टरफाइनल चरणमै रोकियो । स्विट्जरल्यान्ड निर्धारित ९० मिनेटको खेलमै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । खेलको ९० मिनेटसम्म स्विजरल्यान्ड खेलमा ३–२ ले पछि थियो ।
यद्यपि, अन्तिम मिनेटमा गोल गर्दै खेललाई ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलेको स्विट्जरल्यान्डले अन्ततः टाइब्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
स्विट्जरल्यान्डले कुनै पनि ठूलो प्रतियोगितामा सन् १९३८ पछि पहिलोपटक नकआउट चरणमा जित हात पारेको हो । हारिस सेफेरोभिकले खेलको १५औँ मिनेटमा हेडिङ गोलमार्फत स्विजरल्यान्डलाई १–० ले अघि बढाएका थिए । जुबेरले क्रस गरेको बलमा सेफेरोभिकले स्विट्जरल्यान्डका लागि हेडिङ गोल गरेका थिए । जारी प्रतियोगितामा जुबेरको यो चौथो गोल ‘एसिस्ट’ हो । स्विट्जरल्यान्डले कुनै पनि आधिकारिक प्रतिस्पर्धामा फ्रान्सविरुद्ध अग्रता लिएको पनि यो पहिलो अवसर हो ।
यद्यपि, स्विट्जरल्यान्डले लगत्तै पाएको पेनाल्टी अवसर भने खेर फाल्यो । जुबेरलाई फ्रान्सका बेन्जामिन पाभार्डले आफ्नो डी बक्सभित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री ९भार०मार्फत स्विट्जरल्यान्डले पेनाल्टी अवसर पाएको थियो । यद्यपि, उक्त अवसरमा रिकार्डो रोड्रिगेजको प्रहारलाई फ्रान्सका गोलरक्षक हुगो ल्होरिसले असफल बनाइदिए । त्यसको चार मिनेट तीन सेकेन्ड्सपछि करिम बेन्जेमाले लगातार दुई गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । बेन्जेमाले खेलको ५७औँ मिनेटपछि दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए । त्यसपछि खेलको ७५औँ मिनेटमा पल पोग्बाले लामो दूरीबाट आकर्षक गोल गर्दा स्विट्जरल्यान्डको सम्भावना लगभग सकिएकोजस्तै देखिएको थियो ।
तर, ८१औँ मिनेटमा सेफेरोभिकले खेलको व्यक्तिगत दोस्रो र प्रतियोगिताको तेस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा ग्रानित शाकाको पास सदुपयोग गर्दै मारियो गाभ्रानोभिकले स्विटजरल्यान्डलाई ३–३ गोलको बराबरीमा फर्काउँदै खेल अतिरिक्त समयतर्फ धकेले । अतिरिक्त समयको खेलमा उनीहरूले गोलको थोरै मात्रै अवसर पाएका थिए । यद्यपि, टाइब्रेकरमा पाँच सुन्दर गोल गर्दै स्विट्जरल्याड्स अघि बढ्यो ।
अतिरिक्त समयमा गोलका केही राम्रा अवसर चुकाएका एम्बाप्पे टाइब्रेकरमा पनि चुके । यो टाइब्रेकरमा गोल गर्न असफल उनी एक्लो रहे । उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक यान सोम्मरले असफल बनाइदिएका थिए ।
स्विट्जरल्यान्डले पछिल्लोपटक सन् १९५४ को विश्वकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गरेको थियो । स्विटजरल्यान्डले नै आयोजना गरेको उक्त विश्वकपमा समूहगत चरणबाट आठ टोलीले सीधै क्वार्टरफाइनल चरणमा प्रवेश पाएका थिए । क्वार्टरफाइनल चरणको त्यो खेलमा स्विट्जरल्यान्ड अस्ट्रियासँग पराजित भएको थियो ।
स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा युरोकपकै सर्वाधिक सफलमध्येको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले पनि सोमबार राति भएको यस्तै अर्को रोचक प्रतिस्पर्धामार्फत क्वार्टरफाइनल चरणको यात्रा तय गरेको छ ।